पर्यटन/संस्कृति

धरानमा इस्ट टुरिजम मार्ट प्रारम्भ

इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले पर्यटन उद्योगलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरिरहेको जानकारी दिएका छन् ।

पूर्वको पर्यटन उद्योगलाई दिगो र प्रतिफलमुखी बनाउन नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाले संयुक्तरूपमा धरान–१० स्थित सैनिक भवनमा बिहीबार साँझदेखि शुरु गरेको तीन दिने ‘इस्ट टुरिजम मार्ट–२०१८’ को आज उद्घाटन गर्दै उहाँले मार्टलाई पूर्वका पर्यटन व्यवसायीहरूले उपयोग गर्न सक्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राईले ‘समृद्धि र विकासको एजेन्डा पुरा गर्न पर्यटनसंँगै जलस्रोत, कृषि र उद्योगलाई विशेष जोड दिँदै विकासको मूल आधार बन्ने समेत कसैले बिर्सन नहुनेमा जोड दिए ।

मार्टमा छिमेकी मुलुक भारत, बंङ्गलादेश, भूटानका निजीक्षेत्रका पर्यटन व्यवसायीहरूले सहभागिता रहेको छ । नेपालका पर्यटकीय उत्पादनको बजारको खोजी का लागि यसअघि नेपाल पर्यटन बोर्ड, पुर्वका पर्यटन व्यवसायीहरूको टोलीले पश्चिम बंङ्गालको सिलिगुढी, जयगाउ, सिक्किम, विहारको पटना र भूटान लगायतका स्थानमा त्यहाँका पर्यटन व्यबसायीसंँग अन्र्तक्रिया गरेपछि इस्ट टुरिजम मार्ट आयोजना गरिएको सेल्स मिसन कार्यक्रमका संयोजक बासुदेव बरालले जानकारी दिए ।

मार्टको मुख्य उद्देश्य पूर्वको पर्यटकीय क्षेत्रको ब्राण्डिङ, प्याकेजिङ र मार्केटिङ गर्नु रहेको उनको भनाइ छ । मार्टमा प्रदेश १ का १४ जिल्लाका पर्यटकीयस्थल, धार्मिक तीर्थस्थल, रमणीय र ऐतिहासिक गन्तव्यस्थलबारे जानकारी दिनका लागि ५० पर्यटन व्यवसायीका स्टल रहेका छन् ।