देश

गणतन्त्र कोरियासँग व्यापार विस्तारमा जोड

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा
‘समृद्ध नेपाल सुखी नेपाली’भन्ने नेपाल सरकारको नारा सफल बनाउन कोरियाको सहयोग आवश्यक भएको बताए ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले दुवै देशबीच जनस्तरको सम्पर्क र व्यापार विस्तार गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राजदूत पार्कले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र निर्माणमा नेपाललाई सघाउन आफू सदैव तत्पर रहेको बताउँदै नेपालमा साना, मझौला तथा घरेलु उद्योगमा प्रविधि हस्तान्तरण, खानी अन्वेषण, गुणस्तर परीक्षण प्रयोगशाला निर्माण, ऊर्जा क्षेत्रमा लगानीजस्ता विषयमा चासो व्यक्त गरे ।

आजै मन्त्री यादवले नेपालका लागि इस्टोनियाका विशेष कूटनीतिक प्रतिनिधि रिहो क्रुभसँगको भेटमा नेपालमा जलविद्युत्, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका प्रशस्तै सम्भावना रहेको र अनुकूल वातावरण बनेको बताए । राजदूत रियोले नेपालमा भएको राजनीतिक परिवर्तन र लगानीका वातारणका विषयमा आफ्ना मुलुकका लगानीकर्तालाई जानकारी गराई नेपालमा लगानीका लागि पहल गरिने बताए ।