स्वास्थ्य

पचहत्तर युनिट रगत संकलन

पोखरा । विश्व रक्तदान दिवसको सन्दर्भमा पोखरा नागरिक उड्डयन कार्यालय विमानस्थल सुरक्षा गार्डको आयोजनामा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ ।

विमानस्थलमा कार्यरत सुरक्षाकर्मी एवं कर्मचारीका साथै विभिन्न हवाई उडान कम्पनीका कर्मचारीसमेतलाई लक्षित गरी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी निरीक्षक हरिप्रसाद काफ्ले जानकारी दिए ।

उनका अनुसार नमस्ते अस्पताल प्रालिका चिकित्सक तथा प्राविधिक सहयोगमा विमानस्थलस्थित छात्रु प्रतीक्षालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा लगभग १४२ जनाको स्वास्थ्य परीक्षण गरियो ।

शिविरमा विशेषगरी महिलामा पाठेघर खसेको पाइएको नमस्ते अस्पतालका डा. मनबहादुर गुरुङले बताउँदै सो अवसरमा हाडजोर्नी, उच्च रक्तचापलगायतका विभिन्न विशेषज्ञहरुको सहभागिता रहेको जानकारी दिए । सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले स्वास्थ शिविरबाट अधिकतम लाभ लिन आग्रह गर्दै रक्तदान कार्यक्रम जीवनदान भएको बताए ।

पोखरामा केही समयअघि रगतको अभाव भए पनि विभिन्न संघसंस्थाद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममार्फत अहिले सहज हुँदै गएको रक्त सञ्चार केन्द्रका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी कास्कीका उपाध्यक्ष दण्डराज पौडेलले जानकारी दिए ।