समाचार

होटल सञ्चालक र मजदूरबीच सम्झौता

काठमाडौँ । डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ ।

होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो ।

नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदूरलाई उपलब्ध गराइने छ । सन् २००६ डिसेम्बरदेखि होटल तथा रेष्टुराँमा मजदूरलाई उपलब्ध गराउने गरी सेवा शुल्क लगाएको थियो ।

उक्त व्यवस्था अनुसार मजदूरले कूल सेवा शुल्कको ७० प्रतिशत र २६ प्रतिशत होटल सञ्चालकले लिँदै आएका थिए । तर, सेवा शुल्कबापत मजदूरले आउने हिस्सा बढाउन माग गरेको र सञ्चालकले उठेको रकम पनि मजदूरलाई दिन आनाकानी गरेपछि सो विषयमा विवाद बढेको थियो ।

नयाँ सम्झौताअनुसार २३ प्रतिशत रकम सम्बन्धित होटल प्रतिष्ठानले मर्मत तथा सीप विकासका लागि राख्न पाउने छन् । यसैगरी दुई प्रतिशत रकम होटल संघ र रेबानले पाउने छन् भने उक्त सम्झौतामा हस्ताक्षर गरेका तीन वटा होटल रेस्टुराँ सम्बन्धी मजदूर युनियनले एक र एक प्रतिशत रकम पाउनेछन् ।

यसअघि सबै ग्रेडिङलाई वार्षिक रुपमा तलबमा जोडेर तलब वृद्धि गर्दै आएकोमा अबका दिन कूल तलबको पाँच प्रतिशत रकम मात्र वार्षिक रुपमा वृद्धि हुनेछ ।