देश

शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गरिने

काठमाडौँ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ ।

विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण हुने नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र शक्ति सन्तुलनको सिद्धान्तमा आधारित लोकतान्त्रिक संगठन बनाउने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीले माक्र्सवाद र लेलिनवादलाई वैचारिक दृष्टिकोणका रुपमा अवलम्बन गर्ने भएपछि संगठनको सैद्धान्तिक नीति पनि त्यसैमा आधारित हुनेछ ।

एकताका लागि यसअघि पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो ।

विधान र संगठन कस्तो निर्माण गर्ने त्यसको अध्ययनका लागि बिहीबार गठन गरिएको मस्यौदा समितिले कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार गर्नेछ ।

मुलुकमा युवा वर्गमा देखिएका चुनौती तथा सम्भावनाका आधारमा उनीहरुलाई कसरी उत्पादनसँग जोड्ने, युवा सशक्तीकरणलगायत विषयमा समेत बैठकमा छलफल भएको छ ।

युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र भोलिपल्ट सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरिएकोे बताए ।

दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकिकृत गरिसक्ने जनाइएको छ ।