समाचार

निरन्तर दलित अधिकारको पक्षमा चमेली

काठमाडौँ । नेपालमा जातीय छुवाछूत कानूनमा हटेको लामै समय भयो तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।

सामाजिक तथा सांस्कृतिक परिवेशका कारण पनि एकैपटक विभेद् हट्न सक्दैन पनि । त्यसका लागि ठूलै परिवर्तनको जरुरी पर्दछ । संविधानले त जातीय विभेद्लाई दण्डनीय अपराध नै मानेको छ ।

तर हरेक जो दिन माथिल्लो र तल्लो जातिको नाममा विभेद् भएको समाचार आएकै छन् । काभ्रेकी लक्ष्मी परियार समाजकै शिक्षित भनिने व्यक्तिबाट प्रताडित भइन् ।

यस्तै यही जेठ १९ गते कालिकोटको नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य मना सार्कीलाई दलित भएकै कारण आक्रमण भएको छ । आक्रमणको कारण उनको निधन भएको समाचार सार्वजनिक भएको छ । तराई–मधेशमा सार्वजनिक कुवा, इनारसमेत प्रयोग गर्न नदिने अवस्था छ ।

कानूनले बर्जित गरेका माथिल्लो र तल्लो जातको व्यवहार समाजबाट नहटेको बेला दलित महिला अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी प्रतिनिधि पात्र हुन् । चमेली खाती दर्जी, दलित, असहाय, गरीब महिलालाई गरिने विभेद्का विरुद्ध निरन्तर लागिरहने उनलाई आम मान्छेले चमेली परियारको नामले चिन्छन् ।

‘विभेद्मा पर्नेमा होइन, विभेद् गर्नेमा चेतनाको स्तर वृद्धि हुन जरुरी छ,’ उनी भन्छिन्, “दलित महिलाको सशक्तीकरणका लागि शैक्षिक, आर्थिक र राजनीतिक रुपमै बलियो बनाउनुपर्ने उनको भनाइ छ ।”

खाती दलित महिला संघकी संस्थापक अध्यक्ष हुन् । बागलुङको गलकोटमा ३४ वर्षअघि जन्मनु भएकी खाती आफैँले पनि धेरै विभेद्को जाँतोमा पिसिनुप¥यो ।

गलकोटको जनहित माविमा उनी ६ कक्षामा पढ्दा सबै विद्यार्थी मिलेर पानी खाने घैंटो किन्न रकम संकलन गरे । विद्यालयमा घैंटो आइपुग्यो । जातका कारण घैंटोको पानी समेत खान नपाएको तीतो स्मरण पनि छ उनीसँग ।

गाउँघरमा ठूला जाति भनिएकाले दलितले छोएको नखाने, दलितलाई घरभित्र प्रवेश नदिने घटना सामान्य नै हुन् । तर ती विषयलाई कानूनले दण्डनीय अपराध मानेको छ ।

“विद्यालयभित्रै विभेद् हुँदा भने मेरो मन नराम्ररी दुख्यो । त्यसै बेलादेखि विभेदका विरुद्ध लाग्ने प्रण गरें” उनले भनिन् ।

उच्च शिक्षा पढ्न पृथ्वीनारायण क्याम्पस पुगेपछि विभेद्विरुद्धको संघर्ष थप फराकिलो बन्ने अवसर पायो । क्याम्पसमा दलित विद्यार्थी संघ स्थापना भयो । उनी त्यसमा आवद्ध भइन् ।

जागरण मिडिया सेन्टरले पोखरामा एक साताको पत्रकारिता तालीम दियो । पत्रकारितामार्फत विभेद्को विरुद्ध जनचेतना फैलाउन सजिलो हुने उनले ठान्यो । कास्कीका केही सञ्चार माध्यममा समेत उनले काम गरे ।

पहिलो संविधानसभाको निर्वाचनताका उनले दलित महिला संघ (फेडो) मा रहेर दलित महिलालाई संगठित गर्ने अभियानमा लागीन् । हाल सो संघमा कास्कीका मात्रै ६ सय साधारण सदस्य, ८० सक्रिय सदस्य नौ जनाको कार्यसमिति कार्यरुत छ ।

सोही संस्थाले कास्को पोखरामा अदृश्य रुपमा फैलिँदै गएको यौन व्यवसायको बारेमा सुक्षम अध्ययन ग¥यो । अध्ययनका क्रममा थुप्रै अप्ठयारो भोगेको अनुभव उनीसँग छ । पोखरामा कम उमेरका र बाध्यतामा परेर यौन व्यवसायमा लागेको प्रतिवेदन अध्ययन टोलीले तयार ग¥यो ।

पोखराका केही होटलले यौन व्यवसाय हुने गरेको तथ्य प्रतिवेदनमा औल्याइएको थियो । उक्त प्रतिवेदन सार्वजनिक नगर्न चमेली र उनको संस्थाले बारम्बार धम्की व्यहोर्नुप¥यो । धम्कीका बाबजुद संस्थाले प्रतिवेदन सार्वजनिक गरेको उनी स्मरण गछिन् ।

एक स्थानीय संस्थाको सहकार्यमा उनको संस्थाले मानव बेचबिखनको अवस्था अध्ययन गरेको थियो । सोही प्रतिवेदनलाई आधार मानेर समाज कल्याण मन्त्रालयले राम्रो कार्य गरको भन्दै पुरस्कृत समेत ग¥यो ।

पोखराको रेडियो जननीले सामाजिक समावेशी क्षेत्रमा उनको योगदानको कदर गर्दै राष्ट्रियस्तरको जननी सम्मान २०७३ प्रदान ग¥यो ।
परिवारले छोरीमान्छे घरबाहिर डुल्नु हुँदैन भन्थे । उनकै बुबा र दाइविरुद्ध उनले त्यसबेलै विद्रोह बोलेको सुनाउन्छन् खाती ।

पाइलापाइलामा दलित र महिलामाथि हुने विभेद्को एक भुक्तभोगी म आफैं हुँ । आफूले भोगेको विभेद् अरुले नभोगुन भनेर निरन्तर दलित महिला अधिकारको पक्षमा क्रियाशील रहेको उनको भनाइ छ । “सामाजिक रुपमा नै सचेत नभइकन सहजै रुपमा विभेद् हट्न सम्भव छैन, तर हिम्मत हारेको छैन” उनले भने ।

कास्कीको स्थानीय शान्ति समितिमा रहेर द्वन्द्वबाट प्रभावित महिला र बालबालिकाको पक्षमा काम गरेको भन्दै प्रशंसा गर्नुहुन्छ प्रतिनिधिसभा सदस्य दुर्गा विक । ‘एउटा सशक्त महिला अधिकारकर्मी हुन्–चमेली । उनको साहस साच्चै अनुकरणीय रहेको छ’ सांसद विक भन्छिन् ।

“समाजमा राजनीतिक परिवर्तन भए पनि सामाजिक र सांस्कृतिक परिवर्तन नभएकोमा खिन्न मान्नुहुन्छ खाती । समाजकै शिक्षित भनिएकाको मानसिकतामा नै दलितलाई हेप्नुपर्छ भन्ने मान्यता रहेको उनको गुनासो छ । दुर्गा भन्छिन्– “पहिले तपाई भनेर सम्बोधन गर्नेहरु नाम थर सोधिसकेपछि ‘तिमी’मा झर्छन् । यो पनि विभेद्को एउटा रुप हो ।”

मानिसको चेतना स्तर नबढाउँदासम्म समाज परिवर्तनको विषय केवल नारा मात्रै बन्छ । ‘तर समाज परिवर्तनको महाअभियानबाट भाग्ने छुट हामीलाई छैन’ आशावादी छन् खाती ।