सूचना प्रविधि

बजेटले सञ्चारको विकास गर्ने

काठमाडौँ । सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताए ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले यसपटक बजेटमार्फत सञ्चार क्षेत्रका लागि ल्याइएको कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

‘‘पत्रकार दुर्घटना बीमा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागलाई पत्रकारिताको अनुसन्धान बनाउने कुरा राम्रो छ’’ उनले भने –‘‘यी कुरालाई कार्यान्वयन गर्न सके सञ्चार क्षेत्रको विकासमा फड्को मारिने छ ।’’

पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पाण्डेले श्रम कानून पत्रकारिताको क्षेत्रमा कार्यान्वयन गर्न समस्या परेको भन्दै सरकारले कडाइका साथ लागू गरे पत्रकारको व्यावसायिक सुरक्षा हुने बताए ।

उहाँले पत्रकारले राष्ट्रिय गौरवको ठूला आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पत्रकारिताको विकास गर्नका लागि यसपटक सञ्चार क्षेत्रमा अधिक बजेट विनियोजन गरिएको बताए ।

विनियोजित बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै उहाँले विकासका प्राथमिकताअनुसार नै बजेट आएको जानकारी गराए।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राजनीतिक व्यक्तिले बजेट नबनाएको हुनाले श्रमजीविको पक्षमा नरहेको बताए ।

सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले सञ्चार क्षेत्रको बजेट बढाउनुपर्ने बताए ।