पर्यटन/संस्कृति

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो ।

विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर–२०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो ।

उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा पूरा भयो । यो बीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए ।

के अबको दुई वर्षमा नेपाल आउने पर्यटकको संख्या दोब्बर होला ? यो चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्न ५९ सदस्यीय ‘नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समिति ’ गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहनुभएको सो समितिको सदस्यहरुमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, सातवटै प्रदेशका पर्यटनमन्त्रीहरु, मन्त्रालयका सचिव, मातहत निकायका प्रमुख, निजी क्षेत्रका पर्यटनसम्बन्धी विभिन्न संस्थाका अध्यक्षहरु हुन्छन्।

आजै मूल आयोजक समितिको पहिलो बैठक बसी भ्रमण वर्षको लोगो तथा केही प्रचार सामग्री सार्वजनिक गरिएको छ । सो अभियानलाई सफल बनाउन उच्चस्तरीय विचार विमर्शसमेत गरिएको छ ।

पर्यटनमन्त्री अधिकारीले नेपाल भ्रमण वर्षलाई सफल पार्न सबै निकाय सक्रिय ढंगले लाग्नुपर्ने बताए ।

“आज मूल आयोजक समितिको बैठक सम्पन्न भएको छ । अभियानलाई सफल तुल्याउन विभिन्न उपसमिति तय गरेका छौँ । भ्रमण वर्षलाई जसरी पनि सफल तुल्याउने छौँ, त्यसका लागि सबै क्षेत्रको सहयोग र सक्रियता आवश्यक छ”, पर्यटनमन्त्री अधिकारीले भने ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मूल आयोजक समितिका सदस्यसचिव दीपकराज जोशीका अनुसार नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको पहिलो बैठकले भ्रमण वर्षको प्रतीक चिह्न (लोगो) र उपसमितिहरु टुंगो लगाएको हो ।

पर्यटकले नेपाल आउँदा अविस्मरणीय अनुभूति ‘लाइफ टाइम भ्यालु एक्सपेरियन्स’ थिममा बनाइएको लोगोको पृष्ठभूमिमा हिमाल र अगाडिपट्टि एउटा संस्कृतिको संकेत राखिने छ, तलतिर ‘भिजिट नेपाल २०२० लाइफ टाइम एक्सपेरियन्स’ उल्लेख गरिन्छ ।

कार्यकारी प्रमुख जोशीले २० लाख पर्यटकको लक्ष्य भेटाउन पूर्वाधार बढाइ आक्रामक बजार प्रवद्र्धनका कामलाई अघि बढाइने छ भने ।

बैठकमा सहभागी राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, पर्यटन व्यवसायीहरु सिएन पाण्डे, सन्तवीर लामा, प्रमोद जैसवाललगायतले भ्रमण वर्ष अभियानलाई कसरी सफल तुल्याउन सकिन्छ भनेर राय सुझाव दिएका थिए।

बैठकमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललगायत उच्च अधिकारीको उपस्थिति थियो ।

पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आवको बजेटमै पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने जनाएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनिमात्र विदेश भन्ने नीति लिइएको छ । सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

सरकारले चालू आवमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख र हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आव २०७५/०७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधा उपलब्ध गराई गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ ।

बजेट तथा नीति कार्यक्रममै पर्यटकीय पूर्वाधारको मुख्य आधार निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य लिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने लक्ष्य छ ।

पूर्व पर्यटन सचिवद्वय सुरेशमान श्रेष्ठ र दीपेन्द्रपुरुष ढकालले पर्यटक बढाउने सरकारको लक्ष्य पूरा गर्न सकिने सम्भावना रहेको भन्दै त्यसका लागि पर्यटकीय पूर्वाधार विकास र सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

आफ्नो जिम्मेवारी सम्हालेदेखि नै पर्यटन क्षेत्रको समग्र सुधार तथा गुणात्मक अभिवृद्धि गरी पर्यटकको संख्या बढाउन विशेष चासो दिएर सरोकारवाला निकायलाई सक्रिय गराएका पर्यटनमन्त्री अधिकारीले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्यसहित पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धनात्मक अभियानलाई अघि बढाइनुपर्नेमा जोड दिए ।