समाचार

भूकम्पले भत्किएका चार लाख ८१ हजार घरको पुनःनिर्माण

काठमाडौँ । तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ ।

घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका सात लाख १८ हजार ९०३ लाभग्राहीमध्ये चार लाख दुई हजार ६१३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता गरेका लाभग्राही संख्याको ५६ प्रतिशत हो ।

दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख ३५ हजार ३४० पुगिसकेको छ । पहिलो किस्ता लिने लाभग्राहीको संख्या सात लाख १० हजार ४३ पुगेको छ ।

दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकाले पनि घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढोत्तरी भइरहेको छ ।

निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका कारण घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

दोस्रो एवं तेस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनःनिर्माण सम्पन्न र पुनःनिर्माण भइरहेका घरको संख्या पनि बढेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार पुनःनिर्माण शुरु भएका चार लाख ८१ हजार चार घरमध्ये एक लाख ६२ हजार १८९ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । भूकम्पले सबैभन्दा बढी घर सिन्धुपाल्चोकमा भत्किएका थिए ।

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि वृद्धि भइरहेको छ । तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या एक लाख ७४ हजार २०८ पुगेको छ । तीमध्ये एक लाख ३७ हजार ७३१ ले तेस्रो किस्ता लिइसकेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउँछन् । तेस्रो किस्ताबापत रु एक लाख पाउने कार्यविधि छ । अनुदान सम्झौता गरेपछि पहिलो किस्तामा रु ५० हजार दिइन्छ । पहिलो किस्ताको अनुदानले पीडितले घरको जग निर्माण गरेपछि इन्जिनियरले जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् ।

प्राधिकरणले पछिल्लो समय गुनासो सुनुवाईलाई पनि तीव्रता दिएको छ । सुनुवाईबाट छनोट भएका पीडितलाई पुनःनिर्माण लाभग्राहीमा समावेश गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ महिनाभित्र गुनासो सम्बोधन गरी सात हजार ४२२ पुनःनिर्माण लाभग्राही थप गरेको छ ।

हालसम्म लाभग्राही सूचीमा परेका पीडितको संख्या सात लाख ७५ हजार १२७ पुगेको छ । यसैगरी प्रवलीकरण सूचीमा सूचीकृत भएका लाभग्राहीको संख्या २९ हजार ४९३ पुगेको सहप्रवक्ता घिमिरेले बताए ।

पौने आठ लाख लाभग्राहीमध्ये बिहीबारसम्म सात लाख १८ हजार ९०३ ले अनुदान सम्झौता गरेका छन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण हुनेको संख्या एक लाख ७४ हजार २०८ पुगेको छ । एक लाख ६२ हजार १८९ घर पुनःनिर्माण सम्पन्न भएका छन् ।