देश

सरकारी कार्यालयभित्र बिचौलियालाई रोक

बेँसीशहर, लमजुङ । जिल्लाका सरकारी कार्यालयहरुमा बिचौलियालाई प्रवेश रोक लगाइएको छ । सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई कार्यालयभित्र प्रवेश गर्न प्रशासनले रोक लगाएको हो ।

बिचौलियाले सेवाग्राहीसँग महँगो शुल्क लिँदै दुःख दिने र कार्यकक्षमै पसेर अनधिकृतरुपमा सरकारी कागजपत्र चलाउने गरेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको हो ।

सेवाग्राहीसँग रकम लिँदै कार्यकक्षमा आउने बिचौलियालाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।

जिल्लामा विशेषगरी मालपोत, जिल्ला प्रशासनलगायत कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको गुनासो बढेको हो । कुनै पनि सरकारी कार्यालयमा सेवाग्राही आफैँले सहजरुपमा काम गर्न सक्ने र नसकेमा सम्बन्धित कार्यालयका कर्मचारीले नै सहयोग गर्ने प्रबन्ध मिलाएको प्रजिअ ढकालले बताए।