देश

उपमहानगरबाट बालबालिकालाई पोशाक वितरण

बुटवल । बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अतिविपन्न समुदायका बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।

नयाँ शैक्षिक सत्रसँगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीलाई विद्यालयमा टिकाउने उद्देश्यस्वरुप पोशाक वितरण गरेको हो ।

पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको छ । बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गराउने, उनीहरुलाई सिकाउने र टिकाउने अभियानस्वरुप नै पोशाक वितरण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

त्यस विद्यालयका ५९ जना बालबालिकालाई प्रमुख सुवेदीको नेतृत्वमा पोशाक वितरण गरिएको थियो । अतिविपन्न बालबालिकाको पहिचान गरेर ती बालबालिका अध्ययन गर्ने विद्यालयमा आवश्यक बजेट उपलब्ध गराउने गरी उपमहानगरले योजना बनाएको थियो । सोही आधारमा मैनाबगरको उक्त विद्यालयका बालबालिकालाई रु ३८ हजार बराबरको पोशाक वितरण गरिएको हो ।

वडा कार्यालय, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवीसमेत शिक्षासँग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताए ।

विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने कुनै पनि अभिभावकको लगत संकलन गरेर कार्यालयमा पठाउन उपमहानगरले यसअघि नै वडा कार्यालयमा निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले बताए ।

बुटवलमा अहिले सामुदायिक विद्यालयको संख्या ३९ रहेको छ । प्रारम्भिक बालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाइ केन्द्रको संख्या पाँच रहेको छ । यीमध्ये एउटा केन्द्र भने हाल बन्द छ । यस्तै, संस्थागत विद्यालयको संख्या ६२ रहेको छ । गत वर्षको तथ्यांकअनुसार बुटवलमा मात्रै यस्ता बालबालिकाको संख्या ४७२ रहेको छ ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अतिविपन्न बालबालिकालाई दैनिक खाजा खर्चसमेत उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकालाई दैनिक रु २० का दरले अभिभावकमार्फत खाजा खर्च उपलब्ध गराउँदै आएको उपमहानगरको शिक्षा शाखाका प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिए ।