प्रदेश 1

मानव अधिकारवादीसँग सञ्चारकर्मी संवाद

इटहरी । प्रदेश नं १ को मानवअधिकार रक्षक परिषद्ले बिहीबार सुनसरीको इटहरीस्थित त्रियुगा होटलको सभाकक्षमा मावन अधिकारकर्मी र सञ्चारकर्मीबीचको विशेष अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

मानव अधिकार रक्षक परिषद् निर्माणको चौथो वर्ष प्रवेशको अवसर पारेर विशेष वार्षिकोत्सवसहित मानव अधिकारकर्मीसमेतको रक्षाका लागि के कसरी प्रदेश वा राज्य सरकारले नीति वा ऐन बनाउन जरुरी छ भन्ने विषयमा समेत विशेष र बृहत् अन्तक्र्रियासमेत गर्ने उद्देश्यले चौथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त संवाद कार्यक्रम आयोजना गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र र परिषद्मा आबद्ध प्रदेश १ का विभिन्न मानव अधिकारकर्मी एवं प्रदेश २ का समेत सिरहा र सप्तरी जिल्लाका मानव अधिकारकर्मीसमेतको सहभागिता रहने उक्त वार्षिकोत्सव समारोहमा मानव अधिकारकर्मी रक्षकका विषयमा पनि अव ऐन कानूनले बोल्न जरुरी छ भन्ने बुझाउन सञ्चारकर्मीसँग संवाद गर्न जरुरी भएको बताए ।

परिषद्का संयोजक एवं इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाको अध्यक्षतामा भएको उक्त संवाद कार्यक्रममा इन्सेकले विगत छ महिनामा प्रदेश १ सहित प्रदेश २ का सिरहा र सप्तरीमा मानवअधिकार उलंघनका सम्बन्धमा तयार पारेको तथ्यांकसमेत सार्वजनिक गरेको छ ।

इन्सेक मोरङ प्रतिनिधि पुण्य अधिकारीले उक्त अवधिमा ५३३ वटा मानव अधिकार उल्लंघनसम्बन्धी राज्य र गैरराज्यका तर्फबाट घटना भएको आँकडासमेत सार्वजनिक गरे ।

साथै, सोही अवधिमा महिलामाथि भएका ज्यादतीका थप २६ वटा घटना भएका अधिकारकर्मी शोभा बजगाईले छुट्टै प्रतिवेदनसमेत सार्वजनिक गरे ।

सोमराज थापाको अध्यक्षतामा भएको उक्त संवाद कार्यक्रममा परिषद्का सचिवालय सचिव कमल कोइराला, परिषद् कोषाध्यक्ष सञ्जु नेपाल, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष अमर खड्कालगायतले पनि अन्तरसंवाद कार्यक्रममा आआफ्नो धारणा राखेका थिए ।

लैंगिक हिंसा सचेतना प्रशिक्षण

यसैबीच, प्लान नेपालको सहयोगमा साझा सवालका लागि साझा मञ्च (कोकुन) सुनसरीले स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिकलाई लैंगिक हिंसासम्बन्धी सचेत रहन चारदिने प्रशिक्षण कार्यक्रम इटहरीमा प्रारम्भ गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मी प्राविधिकलाई सेवाग्राही लैंगिक विभेदमा परे वा नपरेको विषयमा सेवाग्राहीको पहिचान गर्ने सक्षम हुन भन्ने विषयमा सचेत प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम थालिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्बन्धित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य प्राविधिकलाई विषयगत ज्ञान दिई समाज वा परिवारबाट लैंगिक हिंसा वा पीडा भोग्न बाध्य पारिएका सेवाग्राहीको पहिचानमा सघाउ पु¥याई उनीहरुले प्राप्त गर्नुपर्ने सेवा तत्काल उपलब्ध गराउन अग्रसर जनशक्ति बनाउनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको कोकुनका स्वास्थ्य सहजकर्ता सिवेन्द्र कर्णले जानकारी दिए ।

सुनसरी जिल्लामा कार्यरत ७० जना प्राविधिक स्वास्थ्यकर्मीलाई विषयगत ज्ञान दिने उद्देश्यले सञ्चालित प्रशिक्षणको यो अन्तिम टोली रहेको र पाँच समूहमा रहेको प्रशिक्षण कार्यक्रमअन्तर्गत १४ जनाको सहभागिता गराइएको पनि सहजकर्ता कर्णले थप जानकारी दिए ।

प्रशिक्षण तालीममा सहभागी भएका स्वास्थ्य प्रविधिकलाई लैंगिक हिंसा वा विभेदका विभिन्न बुँदा एवं पहिचानका लागि अपनाउनु पर्ने विधि आदिका विषयमा विषय विशेषज्ञ सहजकर्ताले सहजीकरण गरिरहनुभएको अर्का सहजकर्ता तीर्थ प्रधानले जानकारी दिए ।