समाचार

सर्पको डसाइबाट महिलाको मृत्यु

पर्सा । सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।