आर्थिक

बजेट कार्यान्वयनको तालिका बनाइने : डा.खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा आज साँझ आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने ।

बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५÷०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताए । कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताए । “सरकारले निजी क्षेत्रलाई दिने अभिभावकत्वको प्रतीक्षामा निजी क्षेत्र रहेको छ”, उनले भने । अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले बजेटको समग्र अवस्थाबारे प्रकाश पारेका थिए भने विभिन्न निजी क्षेत्रका व्यक्तिले बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा उद्योग क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यबारे सुझाव दिएका थिए।