स्वास्थ्य

कर्मचारीलाई तलब उपलब्ध गराउनेः उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताएका छन् ।

स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीले लामो समयदेखि तलव नपाएपछि अर्थ मन्त्रालयमा बजेटका लागि पत्रचार गरिसकेको उहाँले जानकारी दिए ।

आज रासससँग कुराकानी गर्दै उहाँले पाँच महिनादेखि तलव नपाएपछि स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीमा निराशा उत्पन्न भएकाले मन्त्रालयकोे जिम्मेवारीमा आएपछि आफ्नो पहिलो काम उनीहरुलाई तलब खुवाउनु रहेको भने ।

उपप्रधानमन्त्री यादवले तलवका लागि आवश्यक रकम निकासा गर्न अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको जानकारी दिए ।

उनले भने, ‘‘मन्त्रालयमा बजेट अभाव छ, कर्मचारीलाई दिने रकम छैन, अस्पतालको ऋण, कर्मचारी व्यवस्थापनमा असन्तुलनजस्ता धेरै समस्या छन्, सबैलाई क्रमशः समाधान गर्दै जानेछौँ, पहिलो काम कर्मचारीलाई तलव उपलब्ध गराउने नै हो ।’’

देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका स्वास्थ्यका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको भन्दै छिटोभन्दा छिटो तलव सुविधाको व्यवस्था गर्न माग राखी विभिन्न जिल्लाका स्वास्थ्यकर्मीले आन्दोलनसमेत शुरु गरेका छन् ।

छिटोभन्दा छिटो तलव उपलब्ध गराउने प्रयास भइरहेकाले तत्काल आन्दोलनमा न होमिन उपप्रधानमन्त्री यादवले कर्मचारीलाई आग्रह गरे ।

गाउँपालिका र नगरपालिकाका प्रमुखलाई यस सम्बन्धमा पटकपटक मौखिक जानकारी गराइएपनि वेबास्ता गरेपछि उनीहरुले स्वास्थ्य सचिवदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका हुन् ।

बाँके, चितवन, भक्तपुर, धादिङ, सर्लाही, ललितपुरलगायत जिल्लाका कर्मचारीले नगरपालिका अगाडि धर्ना दिने र ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहका सरकारले खटाएपछि खुसी भएर जिम्मेवारी वहन गरेपनि सरकारले आफुहरूलाई बेवास्ता गर्दा खिन्नता महसुस भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

तलबबाटै घरभाडा, छोराछोरीको पढाई, खाद्यान्न, परिवारको पालनपोषणलगायत दैनिक उपभोगका सामानहरूको व्यवस्था गर्नुपर्ने अवस्था आइलागेका हुनाले तलबभत्ता रोकिँदा आफूहरु मर्कामा परेको स्वास्थ्यकर्मी लक्ष्मी शर्माले बताए ।