आर्थिक

नेकपाले सर्टिफिकेट पायो

काठमाडौँ । निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए ।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भने, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागित हुन्छ ।”

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित थिए । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया शुरु गरेको थियो ।