देश

बृहत् अन्तक्र्रिया कार्यक्रम

इटहरी । इटहरी उद्योग वाणिज्य संघले आज नयाँ बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ कर अवधारणा तथा सरकारको बजेट नीति तथा कार्यक्रमले अवलम्बन गरेको परिवर्तित व्यवस्थाका विषयमा सम्पूर्ण उद्योगी व्यवसायी करदातालाई जानकारी गराउने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भवितव्य र प्राकृतिक विपद्मा परेका, व्यापार कारोवार गर्दा नोक्सान बेहोरेकालाई भ्याट छुट गर्ने व्यवस्था भएको वा नभएका विषयमा व्यापारी एवं उद्योगीले जिज्ञासा राखेका थिए । उनीहरुले त्यस्तो विपद्मा परेकालाई भ्याट छुटको व्यवस्था गर्न माग गरेका छन् ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सुनसरीका प्रमुख कर अधिकृत देवनारायण पौडेल र कर अधिकृत नेत्र घिमिरेले वर्तमान सरकारले ल्याएको करसम्बन्धी व्यवस्था र बजेट नीति तथा कार्यक्रमले तर्जुमा गरेका कार्यक्रमका विषयमा सम्पूर्ण उद्योगी व्यवसायीलाई जानकारी गराए ।

उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष सैलेश विष्टले व्यापारिक सुरक्षा र करका विषयमा संघले राज्यद्वारा अघि सारेको नीतिको परिधिभित्र रहेर तिर्न तयार रहेको र राज्यले पनि विपद्मा परेका उद्योगी व्यापारीप्रति सहानुभूति राख्न जरुरी रहेको बताए।

अडिटर्स एशोसिएसन सुनसरीका अध्यक्ष शान्तिराम खनाल, उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल, सल्लाहकार ईश्वर भट्टराई, उद्योगी बजरङ्गलाल अग्रवाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।