सूचना प्रविधि

स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ ।

आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरे ।

कार्यालयका पहिलो सेवाग्राही बर्दिवास–१ का दीननाथ पोखरेललाई प्रदेशसभा सदस्य थापाले स्मार्ट लाइसेन्स प्रदान गरेर थप सेवा शुरु गरिएको हो ।

कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेका थिए ।

कार्यालयबाट स्मार्ट लाइसेन्ससहित सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको प्रतिलिपि र सवारी चालक अनुमतिपत्रको नवीकरणसमेत आजबाट थप सेवा प्रवाह शुरु गरिएको छ । यसअघि कार्यालयले वार्षिक सवारी कर संकलन, सवारी दर्ता प्रमाणपत्रको नवीकरण, बाटो इजाजत नवीकरण, सवारी जाँचपास र अस्थायी रुट इजाजतपत्र (पटके) सेवामात्र प्रदान गर्दै आएको थियो ।

आज थप सेवा शुरु गरिएको समारोहमा ४१ जना सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गरेका कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिए ।

विसं २०७१ मंसिर १७ गते स्थापना भएको यो कार्यालयले अहिलेसम्म रु २१ करोड २५ लाख सात हजार २६३ राजश्व संकलन गरेको समारोहमा जानकारी दिइएको छ ।

थप गरिएका सेवा लिन यसअघि जनकपुरस्थित यातायात व्यवस्था कार्यालय जानु पथ्र्यो । अब यी सेवा बर्दिवासबाटै शुरु गरिएपछि महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली र सर्लाही जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । आपूm अर्कै प्रदेश (प्रदेश नं ३) को बासिन्दा भए पनि भौगोलिक निकटताले बर्दिवासस्थित कार्यालयबाट थप सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५ का सेवाग्राही मदनकुमार श्रेष्ठले प्रतिक्रिया दिए ।