अन्तर्राष्ट्रिय

ट्रम्प र किमको भेटघाट हुने होटल, किन यहीँ होटल ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ अनबीच हुने बहुप्रतिक्षित भेटवार्ता सिङ्गापुरको सेन्टोसा टापुस्थित एक होटलमा हुने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

जुन १२ मा हुने सो भेटवार्ता कुनै पनि अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो भेटवार्ता हुनेछ ।

ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले सो भेटवार्ता त्यहाँको पाँचतारे क्यापेला होटलमा हुने जनाएकी छन् ।

तर दुवै नेता अन्यत्र छुट्टाछुट्टै होटलमा बस्नेछन् ।

राष्ट्रपति ट्रम्प अघिपछि अमेरिकी राष्ट्रपतिहरू बस्दै आएको सांग्रिला होटलमा बस्ने आकलन गरिएको छ भने स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार किम सेन्ट रिजिस सिङ्गापुरमा बस्नेछन् ।

ती दुवै होटल सिङ्गापुरको मुख्य टापुमा अवस्थित छन् ।

किन सेन्टोसा ?
सिङ्गापुरका करिब ६३ वटा टापुहरूमध्ये सेन्टोसा एक हो ।

करिब पाँच सय हेक्टरमा फैलिएको सो टापुमा विलासी रिजर्टहरू, धनीमानीहरूका आवासगृह तथा गल्फ क्लबहरू छन् ।

सिङ्गापुरको मूलभूमिभन्दा अलिकति पर रहेको सो टापुको अवस्थितिका कारण सेन्टोसालाई सुरक्षित स्थान मानिन्छ ।

टापुको आवतजावत सहजै नियन्त्रण गर्न सकिन्छ । त्यहाँ आउनजानका लागि खालि एउटा केबलकार, एउटा मोनोरेल, एउटा पैदलयात्रुहरूका लागि मार्ग र गाडीका लागि एउटा सुरुङमार्ग मात्र छन् ।

साथै विश्वनेताहरूलाई ऐतिहासिक वार्ताबाट केही विश्राम लिन मन लागे गल्फ कोर्सहरू त छँदैछन् । -बिबिसीको सहयोगमा