समाचार

ठूला माछा हात पर्नै लागे: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।

‘छानबिन त्रुटिपूर्ण छ भन्ने जस्ता कुरा आएका छन् । गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ । हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने ।उनले छानबिन समिति तस्करको जति नजिक पुग्दैछ त्यति नै ठूला माछा छटपटाइरहेका दाबीसमेत गरे । ‘यसलाई छटपटीको रुपमा पनि बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भइरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छन्’, गृहमन्त्री थापाले भने ।

गृह मन्त्रालय समालेको सय दिन पुगेको अवसरमा अहिलेसम्म भएका कामबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले तस्करलाई धेरैतिरबाट धेरै शक्ति लागेर जोगाउन खोजेको बताए । उनले जोखिमपूर्ण काममा हात हालेकाले यसलाई केही समूहले अतिरञ्जनापूर्ण बनाउन खोजेको दाबी गरे । ‘ठूला माछा पक्राउ पर्ने अवस्था आएपछि शक्तिकेन्द्रहरु लागेर यसलाई जोगाउन पनि खोजेको बुझियो । यो निकै जोखिमपूर्ण भन्ने बुझेरै पनि जोखिम मोलेका छौ’, उनले भने । गृहमन्त्री थापाले कुन शक्ति केन्द्रले कसलाई जोगाउन लागेको भन्ने भने खुलाएनन् ।

सुन तस्करीका मुख्य व्यक्ति पक्राउ नपरेसम्म र अनुसन्धान प्रक्रिया नटुंगिएसम्म छानबिन समितिको म्याद थपिन सक्ने पनि उनको भनाइ थियो । ‘अब भुरा माछाबाट ठूला माछाको नजिक पुग्दैछौं ,नजिक पुग्न लाग्दा केही ठूला माछा छट्पटाउन थालेका छन् यसले गर्दा केही दिन ढिलाइ हुन सक्छ, त्यसकारण समितिको समय पनि थपिन सक्छ’, उनले भने ।

गृहमन्त्री थापाले सरकारले जोखिम मोलेर भए पनि अनुसन्धान प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गरे । केही दिनयता केही पूर्वप्रहरीबाट सरकारको अनुसन्धान तथ्यहीन भएको अभिव्यक्ति आइरहेको विषयलाई लिएर गृहमन्त्री थापाले समितिको काम कारबाही सही दिशामा अगाडि बढिरहेको दाबी गरेका हुन् ।

समयमा ठेक्का नसक्न कसैलाई पनि नछाडिने
गृहमन्त्री थापाले ठेक्का लिने तर समयमा नै काम नसक्ने जोसुकै भए पनि नछाड्ने बताएका छन । उनले सांसद वा राजनीतिक दलका नेताले लिएको ठेक्का पनि सम्झौताअनुसार काम नभए वा समयमै काम नसकी सम्झौता उल्लंघन गरे उनीहरुलाई कानुनको दायरामा ल्याइने बताए ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालका घरधनी शारादा अधिकारी पनि ठेकेदार नै हुन् । उनले पनि समयमा काम सकेका छैनन् ।

उनलाई के हुन्छ भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री थापाले जोसुकै भए पनि कानुनी दायरामा ल्याउने बताएका हुन् । ‘सबै ठेकेदार घरधनी नै हुन्, घर सबै ठेकेदारको छ, धेरै सांसद पनि ठेकेदार नै होलान् । जसले समयमा काम पूरा गर्दैनन्, राज्यको ढुकुटीको दुरुपयोग गर्छन् उनीहरु अपराधी तथा ठग मानिन्छन्’, गृहमन्त्री थापाले भने, ‘जोसुकै होस् वा ठूला नेता किन नहोस् कारबाही हुन्छ ।’

स्थानीय प्रशासन ऐन संशोधन गरेर कारबाही गर्ने दाबी गरेका छन् । गृह मन्त्रालयले मात्र होइन, यो राज्यले पनि समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने नीति लिइसकेको उनले बताए । जसले समयमा काम पूरा गर्दैनन् र कानुन वा सम्झौता उल्लंघन गर्छन्, त्यस्ता बेइमानलाई कारबाहीको दायरामा ल्याइने उनले दाबी गरे ।

‘गृह मन्त्रालयले कानुन आफ्नो हातमा लिएर निर्णय गर्दैन, निर्णय सम्बन्धित मन्त्रालयले गर्छ, कानुन कार्यान्वयन गर्ने काम गृह मन्त्रालयले गर्छ’, उनले भने, ‘जहाँ जुन मन्त्रालयसँग कामको सम्झौता हुन्छ, त्यो सम्झौता उल्लंघन गर्नेहरुलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउँछ ।’ गृहमन्त्री थापाले ठेक्कापट्टामा गुन्डाराज रहेको पनि दाबी गरे । उनले गुन्डाराज निस्तेज पार्न मन्त्रालयले छुट्टै योजना बनाएको र केही समयपछि लागू गर्ने जानकारी दिए ।

विप्लवप्रति कठोर

नेत्रविक्रम चन्द विप्लव समूहले हाल गरिरहेका गतिविधिप्रति गृह मन्त्रालय कठोर बन्दै गएको छ । गृहमन्त्री थापाले यो राज्य सत्ता उल्टाएर अर्को सत्ता स्थापना गर्ने कोही कसैले दुस्साहस नगरे हुन्छ भन्दै समानान्तर सरकार गठन गरेर हिँड्ने र राज्य सत्ता उल्टाएर गणतन्त्रलाई चुनौती दिनेलाई सरकारले नछाड्ने चेतावनी दिए।

‘दूरसञ्चारसँग सम्बन्धित विभिन्न सेवा प्रदायकका टावरमा आक्रमण गर्नेहरु र विकास तथा समृद्धिमा बाधा गर्नेहरुलाई टुलुटुलु हेरेर सरकार बस्दैन’, गृहमन्त्री थापाले भने ।‘समानान्तर सरकार घोषणा गर्दै हिँड्ने तŒवले आन्तरिक सुरक्षामा चुनौती दिएजस्तो देखिएको छ, यो समूह राजनीतिक अतिवादी समूह हो’, उनले थपे ।

आन्तरिक सुरक्षामा ३ चुनौती

गृहमन्त्री थापाले मुलुकमा आन्तरिक सुरक्षा चुनौतीका रुपमा तीन समूह रहेको दाबी गरेका छन् । उनले पहाडका केही क्षेत्रमा विप्लव, तराईमा सशस्त्र समूह र धार्मिक अतिवादीले सुरक्षा चुनौती खडा गरेको बताए ।

‘मुलुकमा अस्थिरता निम्त्याउन नेकपा विप्लव समूह, गोइत, सिके राउत र ज्वाला समूह, कश्यप समूह, विभिन्न धार्मिक समूहले आन्तरिक सुरक्षामा चुनौती दिएका छन’, उनले भने, ‘जनताको सरकार होइन भन्दै हिँड्ने, राज्य विद्रोह गर्ने, विभिन्न ठाउँमा विस्फोट गराउने, हिन्दु अधिराज्य घोषणाको माग गर्ने, २०२५ सम्ममा मुलुकभर रहेका मठमन्दिर ध्वस्त बनाएर चर्च खडा गर्ने नारा दिएर हिँड्ने समूह आन्तरिक सुरक्षाका लागि चुनौती बनेका छन् ।’ यी सबै समूहलाई निस्तेज पारिने उनले बताए । ‘जाति, क्षेत्र वा धर्मको नाममा अस्थिरता निम्त्याउन खोजेको देखिए पनि उनीहरुको अवस्था कमजोर छ, उनीहरुलाई निरुत्साहित मात्र होइन, निस्तेज पारिनेछ’, उनले भने । -नागरिक दैनिकबाट