पर्यटन/संस्कृति

प्रतिष्ठान गाभे हस्तकलाको विकास हुँदैन

काठमाडौँ । नेपाल हस्तकला महासंघले प्रज्ञा प्रतिष्ठान एकापसमा गाभे नेपालको हस्तकला क्षेत्रको विकास हुन नसक्ने बताएको छ ।

महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले बुधबार एक विज्ञप्ति जारी गरी सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउन खोजेको भन्दै दुःख व्यक्त गरेको हो ।

“नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आ–आफ्नै महत्व छ, यिनीहरुले नेपालको कला तथा संस्कृतिको जगेर्ना गरेका छन्, यीनलाई एकापसमा गाभे नेपालको हस्तकला क्षेत्रको विकास हुन सक्दैन,”– विज्ञप्तिमा भनिएको छ ।

विधागतरुपमा प्रज्ञा प्रतिष्ठान गठन भई तत्–तत् क्षेत्रको विकास, विस्तार, संरक्षण र सम्वद्र्धनको कार्यमा संलग्न हुँदै आएको अवस्थामा नेपाल सरकारबाट चालिएको यो कदमले यस क्षेत्रको विकासमा सकारात्मक भूमिका नखेल्ने महासंघले जनाएको छ ।

सबै प्रकारका प्रतिष्ठानलाई गाभेर एउटै बनाउँदा कला र संस्कृति क्षेत्रको प्रवद्र्धन तथा सम्वद्र्धनमा झन् ठूलो क्षति पुग्ने विज्ञप्तिमा उल्लेख छ ।