राजनीति

प्रचण्डका घरभेटी ठेकेदारलाइ कारबाही गरिदैँ

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ललितपुर खुमलटारस्थित घरधनी शारदाप्रसाद अधिकारीसहित १० ठेकेदारलाई कारबाही गर्न सिफारिस गरेको छ।

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अधिकारीसहित १० निर्माण व्यवसायीलाई कारबाही गर्न सिफारिस गरेको हो।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोट पुग्ने सडकको ठेक्का लिएको थियो। तर, ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन। २०७१ साल जेठमा सडक निर्माण सुरु गरेको शैलुङले २०७३ को असारभित्र निर्माण पूरा गर्नुपर्ने थियो।

तर, अहिलेसम्म सडक निर्माण नहुँदा सर्वसाधारण जताततै खाल्डो भएको बाटो भएर यात्रा गर्न बाध्य छन्। करिब १६ किलोमिटर सडक निर्माण पूरा नहुँदा स्थानीय पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूला खाएर यात्रा गर्न विवश छन्।

उक्त सडक निर्माणको लागि भारतको एक्जिम बैंकले करिब २८ करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो।

छिमेकी भारत सरकारको एक्जिम बैंकको सहयोगबाट बन्न लागेको भक्तपुर–नगरकोट सडकसमेत समयमै पूरा नभएपछि भक्तपुर प्रशासनले शैलुङलाई कालोसूचीमा राखेर कारबाही सिफारिस गरेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ठेकेदारहरुले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मितिलगायतको विवरण समावेश गर्दै गृह मन्त्रालयमा कारबाही सिफारिस गरिएको जानकारी दिए।

‘काममा धेरै ढिलाइ गर्ने ठेकेदारहरूको विवरणसहित कारबाहीका लागि मन्त्रालयमा पठाएका छौं’, उनले भने, मन्त्रालयबाट निर्देशन आएपछि कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’

विकास निर्माणका आयोजना अलपत्र पार्ने ठेकेदारको कामकारबाहीबारे सूक्ष्म अध्ययन जारी राखिएको उनको भनाइ थियो।

एउटै ठेकेदारका तीन योजना अधुरा
भक्तपुर प्रशासनले कारबाही सिफारिस गरिएको एकै ठेकेदारका तीन योजना अधुरा रहेको देखिएको छ। उसले कारबाही गर्न सिफारिस गरिएका भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुका दीपक रानामगरका तीनवटा योजना समयमै नसकिएका हुन्।

उनको लोहनी एण्ड ब्रदर्श(लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला सल्लाघारी भक्तपुर नगरकोट ब्यासी सल्लाघारी दरवार स्क्वायर सडक योजना अधुरा रहेका छन्।

त्यस्तै निर्माण ढिलाइ गर्ने काठमाडौंको धापाखेलस्थित शाह इञ्जिनियरिङ कन्ट्रक्सन प्रालिका सञ्जीव शाहलाई पनि कारबाही सिफारिस गरिएको छ। उक्त कम्पनीले चाँगुनारायण नपा २ स्थित दुवाकोट स्वास्थ्य चौकी भवन निर्माण अधुरो राखेको छ।

यसैगरी सुनौला खिम्ती कन्ट्रक्सनका भीमसेन भण्डारीलाई पनि कारबाही सिफारिस गरिएको छ। भण्डारीको कम्पनीका दुइटा निर्माण ठेक्का अधुरा छन्।

लामा विल्डर्स/साल्पा शेर्पा/जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ र श्री वल्ड वाइड÷विष्णु जेभी काठमाडौंका विष्णु लामालाई पनि कालोसूचीमा राखिएको छ। उनीहरुका एकएक योजना अधुरा छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट यो समाचार साभार गरेका हौ ।