शिक्षा

डा. खड्का र राजदूतबाट विद्यालयलाई सहयोग

गाईघाट, उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गरेका छन् ।

त्रियुगा उच्च माविको अवलोकनपछि आफ्नो मन्तव्य राख्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले आफूले त्रियुगा उच्च माविको भौतिक पूर्वाधार र प्राविधिक शिक्षाको विकासको लागि तत्कालनै अध्ययन गरेर केही सहयोग गर्ने प्रतिबद्धता गरेका त्रियुगा उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेले बताए ।

यस्तै, पूर्व शहरीविकास मन्त्री तथा नेपाली काँग्रेसका नेता सांसद डा खड्काले पनि विद्यालयको पूर्वाधार विकास र प्राविधिक शिक्षाको विकासको लागि आफूले दक्षिण कोरियाली सरकारलाई समेत राजदूतमार्फत सहयोग गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रियुगा उच्च माविमा आउनुभएका अतिथिलाई स्वागत गर्दै विद्यालयका प्राचार्य सुवास विष्टले त्रियुगा उच्च मावि जिल्लाकै पुरानो सरकारी विद्यालय मध्ये एक भएको र यसको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको विकासमा सहयोग गर्न अनुरोध गरिएको बताए ।

विसं २०२६ सालमा स्थापना भएको त्रियुगा उच्च माविमा हाल झण्डै दुई हजार ७०० जना विद्यार्थीले पठनपाठन गर्दै आएको पनि विद्यालय प्रशासनले बताएको छ ।

विद्यालयमा थप भवन निर्माण गर्न र चारवटासम्म स्कूल बस सञ्चालन गर्ने र केही प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालय अहिले अगाडि बढिरहेको कुरा विद्यालयका प्राचार्य विष्टले बताए ।