आर्थिक

हाम्रो विकास बैंक दश वर्षमा

नुवाकोट । यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ ।

विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश वर्षमा रु एक अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिए । उनका अनुसार यो अवधिमा बैंकले रु एक अर्ब ४९ करोड कर्जा प्रवाह गर्दै तीन करोड ८७ लाख कमाउन सफल भएको छ ।

“बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ,” उनले भने “नुवाकोटमा मात्र कार्यक्षेत्र रहेको बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेका छौँ ।”

गत आव विसं २०७३/०७४ मा मुनाफाबाट बैंकले नेपाल सरकारलाइ रु एक करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो भने विसं २०७२/०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा नेपाल सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।

बैंकले आधुनिक बैंकिङको क्रममा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ भने आगामी दिनमा एटीएमलगायतका सेवा शुरु गर्न लागेको बैंकका अध्यक्ष हरिप्रसादले जानकारी दिए।