समाचार

प्रतिव्यक्ति रु छ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना हुने व्यवस्था छ ।