कृषि

कृषिक्षेत्रको सिन्डिकेट तोड्लान् मन्त्री खनालले, यसो भन्छन् !

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताएका छन् ।

उनले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले आज बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनको खण्डीकरण जसरी पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे ।

जग्गा प्लटिङ रोकिएको भए पनि अशंबण्डाका नाममा हुने कित्ताकाटसमेत रोक्न कडा निर्देशन दिएको उनले बताए । अंशबण्डाका नाममा भएको जग्गाकारोबार रोक्न त्यस्तो निर्देशन दिएको भन्दै मन्त्री खनालले आम जनतामा नयाँ व्यवस्थाको शुरुआतमा कठिनाइ भए पनि धैर्यता राख्न आग्रह गरे ।

कृषकका लागि हरियो कार्डको व्यवस्था गरी उचित अनुदान, ऋण तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने भन्दै उनले अबको केही समयमा नतिजा आउने गरी कृषि मन्त्रालय काममा जुटेको छ भने ।

कृषिमन्त्रीले मल, बीउ, औजारजस्ता कृषि क्षेत्रका महत्वपूर्ण वस्तुमासमेत सिन्डिकेटको जालो रहेकाले त्यसलाई तोड्ने गरी कार्य भइरहेको बताए ।

उनले समयमै कृषकलाई बीउ, मलखाद उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको स्वीकार गर्दै अब त्यो समस्या समाधान हुने बताए ।