साहित्य

प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा

काठमाडाँै । भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

रासससँग कुरा गर्दै प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म तीन चौथाइ काम सम्पन्न भइसकेको र अब दुई/तीन महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुने बताए ।

उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु १९ करोड ९२ लाख ९२ हजारको लागतमा समयभन्दा अघि नै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ धेरै काम भइरहेको बताए ।

प्रज्ञा भवनको छानोको मर्मत कार्य सम्पन्न भइसकेको, मूल प्रेक्षालय, प्रेक्षालयका लागि आवश्यक कुर्सी बिजुली, साउण्ड सिस्टम तथा ढलको मर्मत भइरहेको छ ।

भूकम्पबाट क्षति भएको प्रज्ञा भवनको मूल सभाहलको रेक्टोफिटिंग (प्रवलीकरण) को विधिबाट पुनःनिर्माण भइरहेको छ । जीर्णोद्धारपछि सो सभाहल सुविधासम्पन्न हुनुका साथै झण्डै थप १०० दर्शक अट्ने छ । पुरानो प्रेक्षालयमा एक हजार २०० सीट रहेकामा हाल करीब एक हजार ३५० पुग्ने सदस्य–सचिव गिरीले जानकारी दिए । यस अतिरिक्त सुविधासम्पन्न साउण्ड सिस्टम तथा व्यवस्थित विद्युत् आपूर्ति तथा एसी (वातानुकूलित) यन्त्र पनि रहने छ ।

प्रवचन कक्ष तथा पुस्तकालयजस्ता अन्य हलका झ्याल, ढोका तथा कक्षभित्रका सामान्य मर्मत तथा रङ्गरोगन हुने उनले जानकारी दिए ।

प्रज्ञा भवनको मूल प्रवेशद्वारमा रङ्गरोगन तथा सजावट तथा सरसफाइका काम पनि तीव्ररुपमा भइरहेको छ । लामा समानता शान्ति जेभी नामक कम्पनीले भ्याट तथा अन्य करबाहेक रु १६ करोड ९८ लाख २७ हजार ५२४ मा उक्त ठेक्का लिएको उनले बताए ।

नयाँ पुस्तकालय भवन

प्रतिष्ठानको पछिल्लो खाली जग्गामा भारतको सहयोगमा तीनतले भवन निर्माण कार्य सम्पन्न भइसकेको र प्रज्ञा भवनको पुस्तकालय नयाँ भवनमा सरिसकेको गिरीले जानकारी दिए ।

उनका अनुसार रु पाँच करोडको लागतमा निर्माण कार्य सम्पन्न भइसकेको उक्त भवन यो आवको पाँच महिना अघिदेखि हस्तान्तरण भई कार्यान्वयनमा आइसकेको तथा उद्घाटन गर्ने काम मात्र बाँकी रहेको छ ।

भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिको अध्ययन, विद्वान् एवं प्रतिभाको सम्मान गर्ने उद्देश्यले ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा स्थापना भएको हो ।

विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । गणतन्त्रको स्थापनापछि नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ द्वारा संगठित नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको हो ।