आर्थिक

एक करोड ९६ लाख राजश्व संकलन

दाङ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिए ।

“संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र समन्वयको काम गदैआएको छ,” उनले भने, “अनुगमनको क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाहीसमेत थालेका छौँ ।” नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् तथा चोरी निकासीमा २६ जेसीवी, २४ टिप्पर र ३४९ ट्र्याक्टरको प्रयोग गरेको अनुगमनका क्रममा खुलेको छ ।

चालु आवमा ‘इआए’ र ‘आइए’ भएका जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता भएर काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । विपत्बाट मात्र अहिलेसम्म रु एक करोड ९६ लाख २२ हजार राजश्व संकलन गरिएको छ । विपत्को क्षेत्रमा भएको सो कामले यस वर्ष जिल्लाभर एक हजार बिगाहा जमिनलाई सुरक्षित गराउन सकिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

नदीजन्य पदार्थको उत्खनन्को काम असार एक गतेदेखि पूर्णरुपमा बन्द गरिने समितिले जनाएको छ । समितिले जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको पनि नियमन थालेको छ । जिल्लामा सञ्चालन भएका २७ वटा क्रसर उद्योगको अनुगमन गर्ने काम भएको र क्रसर उद्योगमा खरिद रसिदको परिमाणभन्दा बढीको कच्चा पदार्थ भण्डारण गरेर राखिएको पाइएकाले करको दायारामा ल्याउन सबै क्रसर उद्योगलाई पत्राचार गरिएको समितिले जनाएको छ ।

धार्मिक महोत्सबवाट ४० लाख संकलन

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित माध्यमिक विद्यालय डाँडागाउँ गोग्लीको शैक्षिक सहयोगार्थ सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सबबाट रु ४० लाख संकलन भएको छ । यही जेठ १५ देखि २२ गतेसम्म विद्यालयमा सो महोत्सव सञ्चालन भएको थियो ।

महोत्सवमा माधुर्यवाचक बालकृष्ण अर्याल र गोविन्दशरण महाराज कथा वाचकका रुपमा रहनुभएको महोत्सव मूल आयोजक समितिका संयोजक खुशलराम शर्माले जानकारी दिए ।

घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आगामी आवमा विद्यालयको भौतिक विकासका लागि रु दश लाख बजेट विनियोजन गर्ने र घोराही सिमेन्ट उद्योगले एक वर्षभित्र विद्यालयमा पाँच कोठे पक्की भवन निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।