पर्यटन/संस्कृति

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ ।

पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँगै पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ,” पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले भने । भारतीय पर्यटक मुक्तिनाथको दर्शन र हिमाली भू–भागको अवलोकन गर्न आउने गरेका छन् ।

भ्रमणका लागि नेपाल सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिखेर भारतका उत्तरप्रदेश, बिहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् ।

पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढिरहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए ।

“मोदीको भ्रमण अघि पनि भारतीय दर्शनार्थी आउने गरेका थिए, भ्रमणपछि उनीहरूको संख्यामा वृद्धि भएको छ,” उनले भने । मोदीको भ्रमणपछि दैनिक एक हजारदेखि एक हजार २०० को हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ ।

भारतका विभिन्न ठाउँमा गर्मी ह्वात्तै बढेका कारण भारतीय पर्यटकको चाप बढेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल बताउन्छन् । “यतिखेर भारतमा गृष्मकालीन बिदा छ, बिदाको उपयोगका साथै धार्मिक स्थलको दर्शन र प्राकृतिकस्थलको अवलोकनको लक्ष्य राख्दै पर्यटक पोखरा र आसपासका क्षेत्र आउने गरेका छन्,” – उनले भने ।

भारतबाट आउने पर्यटकमध्ये ९० प्रतिशतले आफ्नै सवारी साधन लिएर आउने गरेको जानकारी दिँदै उनले उनीहरूले पोखरामा सामान्यतः दुई/तीन रात बिताउने गरेका छन् । होटेल एशियाका सञ्चालक धर्म पन्थीका अनुसार पोखराका होटेलमा यतिखेर भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ ।

भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघ संस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए ।

प्रवद्र्धनात्मक कार्यक्रमका कारण अन्तर्राष्ट्रिय बजारको विश्वास जित्ने क्रम बढिरहेको उनको भनाइ छ । थपलियाका अनुसार सामान्यतः वार्षिक रुपमा हवाईमार्ग हुँदै पोखरा आउने भारतीय पर्यटकको संख्या करीब दैनिक एक हजार रहेको छ भने स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या दुई लाख रहेको छ ।

नेपाल आउने बाह्य पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा उक्त संख्या बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने गरेको छ । पोखरामा पर्यटकलाई लक्ष्य गरी व्यवसायीले रु एक खर्बभन्दा बढी लगानी गरेका छन् । पोखरामा हाल दुईवटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४०० वटा सुविधा सम्पन्न होटल रहेका छन् ।