खेलकुद

इजरेलसँगको फुटबल म्याच आर्जेन्टिनाद्वारा रद्द, मेस्सीलाई धन्यवाद

काठमाडौं । विश्वकप अघिको तयारी अन्तर्गत इजरेलसँग खेल्न तय गरिएको म्याचलाई गाजामा प्यालेस्टिनीहरूप्रति इजरेलले गरेको व्यवहारलाई लिएर उत्पन्न दबाबका माझ आर्जेन्टिनाले रद्द गरेको छ।

आर्जेन्टिनाका स्ट्राइकर गोन्सालो इग्वाइनले मङ्गलवार इएसपीएन स्पोर्ट्स च्यानलसँग कुरा गर्दै भने, आखिरमा सही निर्णय भएको छ।

सञ्चारमाध्यमहरूमा आएका विवरण अनुसार इजरेलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले शनिवार खेलिने भनेको उक्त म्याच रद्द नगर्न अनुरोध गर्दै आर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्रीलाई फोन गरेका थिए।

सो खेल रद्द भएको समाचार सुनेर गाजामा ताली बजाइएका छन्। त्यहाँ भएका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा १२० जना प्यालेस्टिनीहरूलाई इजरेली फौजले मारिदिएका छन्।

‘मेस्सीलाई धन्यवाद’
वेस्ट ब्यांकस्थित रमल्लाहमा प्यालेस्टीनी फुटबल संघले एक विज्ञप्ति जारी गर्दै आर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी तथा अन्य खेलाडीलाई धन्यवाद दिएको छ।

‘नैतिक तथा खेलको मूल्यले आज जितेको छ। खेल रद्द गरेर इजरेललाई रातो कार्ड देखाइएको छ, संघका प्रमुखलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।

खेल रद्द हुनुअघि उनले प्यालेस्टिनीहरूलाई मेस्सीका तस्वीर र जर्सी जलाउन भनेका थिए।

रुसमा केही समयपछि सुरु हुन लागेको विश्वकप प्रतियोगिता अघि यो आर्जेन्टिनाको अन्तिम खेल हुँदै थियो। सो खेल वेस्ट जेरुसलेममा खेलाइँदै थियो।

जेरुसलेमको हैसियत निकै संवेदनशील छ। इजरेलले जेरुसलेमलाई उसको अविभाज्य राजधानी मान्छ।

प्यालेस्टिनीहरूले चाहिँ शहरको पूर्वी भागलाई भविष्यको आफ्नो प्यालेस्टिनी राज्यको राजधानी मान्छ। हाइफा शहरबाट जेरुसलेममा खेल सारिएपछि उनीहरू क्रुद्ध भएका थिए।

-बिबिसीको सहयोगमा