समाचार

सर्वोच्चद्धारा सरकारका नाममा यस्तो परमादेश !

काठमाडौं । सरकारी अस्पताल परिसरमा निजरुी फार्मेसी सञ्चालनमा रोक लगाईने भएको छ । बुधबार परमादेश जारी गर्दै सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन भनेको हो ।

सर्वोच्चको परमादेश अनुसार सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नु पर्नेछ । नशुल्क गरिएका औषधी निर्वाध रुपमा वितरण गर्न सर्वोच्चले बुधबार आदेश दिएको छ ।

२०७२ सालमा वीर अस्पतालले फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो। अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दिएका थिए।

वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो।

‘आफ्नो परिसरभित्र रहेका सटरहरू निजी औषधि पसल सञ्चालन गर्नका लागि भाडामा दिने कार्यलाई कानून बमोजिमको कार्य मान्न सकिएन,’ फैसलामा भनिएको छ, ‘विपक्षी वीर अस्पतालले १ देखि १४ नम्बर सटर भाडामा दिनेसम्बन्धी २०७२ जेठ २७ गतेको गोरखापत्रमा प्रकाशन गरेको बोलपत्र सूचना, आएका आवेदनहरू तथा सो उपर भएका आदेश तथा सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वार बदर गरिदिएको छ।’

स्वास्थ्य मन्त्रालय, वीर अस्पताल लगायतका विभिन्न सरकारका मातहतमा सञ्चालनमा रहेका अस्पतालले अब आफ्नै फार्मेसी खोल्नुपर्ने गरी परमादेश दिएको छ ।