समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य, यस्तो छ कारण

काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरा विमानस्थल व्यापारिक उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् । पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेका थिए ।

विज्ञ समूहले आगामी ४० वर्षसम्म मुलुकमा हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेकाबाहेक थप अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको छ ।

विज्ञ समूहले २० वर्षमा हवाई यात्रुको संख्या ३ करोड ३३ लाख ५० हजार पुग्ने अनुमानसहित त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त हुने भन्दै थप विमानस्थल आवश्यक नरहेको बताएको हो । –कारोबार