साहित्य

‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

काठमाडौँ । लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए ।

सो पुरस्कारको राशि रु २५ हजार र ताम्रपत्र छ भने आगामी असार १५ गते सो सम्मान प्रदान गरिनेछ ।

नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्ने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित छन् । उनी अंग्रेजी विषयका प्राध्यापकसमेत छन् ।

विसं १९७८ मा जन्मेका लीलाध्वज थापाले विसं २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ निबन्ध चर्चित छन् । विसं २०४१ मा थापाको निधन भएपछि उनको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

सोही सम्मानबाट गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशी सम्मानित भएका थिए ।