अन्तर्राष्ट्रिय

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

दुबई, संयुक्त अरब इमिरेट्स । इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ ।

आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ ।

पूँजी विश्लेषकहरूको समूह भन्छ, सन् २०१७ मा ०।७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८ को पहिलो चौमासिकमा १।५ प्रतिशतले वृद्धि भएको छ ।

“इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,” लण्डनस्थित पूँजी विश्लेषक समूहले बताएको छ ।

सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलरभन्दा कम बनेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको थियो । पेट्रोलियम पदार्थको निर्यात गर्ने मुलुकहरूको संगठन ९ओपेक० र आयात गर्र्ने प्रमुख मुलुकहरूबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकहरूको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो ।

रियादस्थित जाद्वा इन्भेष्टमेन्ट कम्पनीले भनेको छ, सन् २०१३ को अक्टोवरपछि पहिलो पटक यो वर्षको अप्रिलमा मात्र आम्दानीमा मासिक रूपमा सवैभन्दा ठूलो अङ्कले वृद्धि भएको देखिएको थियो । यससँगै उक्त कम्पनीको वार्षिक वचत १३ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो ।

कम्पनीले दिएको जानकारी अनुसार सन् २०१४ को अन्त्यमा ७३२ अर्ब अमेरिकी डलर रहेको वचत यसवर्षको अप्रिलमा आइपुग्दा ५०६ अर्ब ६० करोड अमेरिकी डलर कायम हुन पुगेको थियो ।

सन् २०१४ देखि साउदी अरबको बजेट घाटा २६० अर्ब अमेरिकी डलर पुगेको छ र सन् २०१८ मा पनि ५२ अर्ब अमेरिकी डलरको बजेट घाटा रहने प्रक्षेपण साउदी सरकारले गरेको छ ।