कृषि

सामूहिक तरकारी खेतीबाट गाउँको विकास गर्दै ओडारगाउँका महिला

मनाङ । आजभोलि महिला आयआर्जनका लागि समूह बनाई बचत र आयआर्जनतिर उन्मुख हँुदै आएका छन् ।

हिमाल पारिको जिल्ला मनाङको नाँसो गाउँपालिकास्थित ओडार गाउँको महिला समूहले जिल्ला कृषि कार्यालयबाट रु दश हजार अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै आएका छन् ।

गत वर्षदेखि शुरु गरेका यी महिला समूहले आलु, लसुन, काउली, बन्दागोवी जस्ता तरकारी उत्पादन गर्दै आएका छन् । पुरुषको तुलनामा महिला चुलोचौकामा मात्रै सीमित हुन्छन् भन्ने भनाइलाई चिर्दै घरधन्दासँगै अरू पनि आयमूलक काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् ।

आफूहरुले महिनाको रु दशको दरले बचत गरेर शुरुआत गरेको यो समूह गतवर्ष मात्र कृषि समूहका रुपमा दर्ता गरी आधिकारिक बनेको ओडार महिला कृषि समूहले सामूहिक तरकारी खेती गर्न थालेको कृषि समूहकी अध्यक्ष उर्मिला गुरुङले बताए । गतवर्ष आलु र लसुन खेती मात्र गरेको यस महिला कृषि समूहले अहिले आलु खेती सँगसँगै काउली, बन्दा, लसुन, प्याजसमेत लगाएका छन् । यस समूहबाट उत्पादित तरकारी गाउँमै खपत भएको पनि उनले बताए ।

पहिलो वर्ष भएकाले उत्पादन राम्रै भएपनि गाउँघरकै स्थानीय बजारमा बिक्री–वितरण गरेर करीब रु एक लाख ५० हजार जति आम्दानी भएको सामूहिक सदस्य मिनकासी गुरुङले बताए । उनका अनुसार महिला समूहले तरकारी खेतीबाट गरेको आम्दानीबाट गाउँ आउनेजाने बाटो निर्माण, खानेपानी लगायतका विकास निर्माणमा सहयोग पुगेको छ ।

त्यस्तै, यस समूहको सक्रियतामा लालीगुराँसको जुस निर्माण गर्ने तालीम, होमस्टेको पाहुना घर र पाहुनालाई स्वागत सत्कारका सरसामान निर्माण जस्ता हस्तकला तालीम पनि सम्पन्न गरेको बेलकासी गुरुङले बताए ।

विशेष गरेर मनाङको आलु देशका सबै ठाउँमा प्रख्यात भएको र आलुको धेरै माग भएकाले आफूहरुले बढी मात्रामा आलु खेती गरेको सूर्यकुमारी गुरुङले बताउनुभयो । अहिले यहाँको आलु काठमाडौँ, पोखरा, तनहुँ, लमजुङ लगायतका शहरमा माग भएको उर्मिला गुरुङले बताए ।

यो महिला समूहले आफूहरुले आयआर्जन गरी गाउँ विकासका कार्यमा लगानी गर्नाका साथै गरीब बालबच्चा, महिला उद्यमीहरुलाई सहयोग गर्ने र मनाङ जिल्लालाई आत्मनिर्भर गराउने लक्ष्य रहेको बेलकासी गुरुङले बताए । यसप्रकार महिलाले नै सामूहिक खेतीबाट गाउँको विकास गर्ने गरेका छन् ।