अन्तर्राष्ट्रिय

सिरियामा सरकार पक्षधर ४५ तथा आइएसतर्फ २६ लडाकूको मृत्यु

बेरूत, लेबनान । सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट (आइएस) जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी गराएको छ ।

आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकू समूहका ४५ जनाको मृत्यु भएको हो । उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाइ आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

विद्रोहीले निहाना बनाएका ग्रामिण वस्तीहरू प्रान्तीय राजधानी देर अजोर तथा अबलु कमल शहरको वरपरका इराकी सिमानामा पर्ने शहरहरू हुन् ।

उक्त गाउँहरूको बीच भागमा अहिले पनि आइएस विद्रोहीको प्रभाब क्षेत्र रहेको हाजिन शहर पनि पर्छ ।

मानव अधिकारवादी संस्थाका प्रमुख अब्देल रहमानले दिएको जानकारी अनुसार सरकारी पक्ष र विद्रोहीबीचको झडपमा परी कम्तीमा २६ जना आइएस लडाकू पनि मारिएका बताए ।

सरकारी पक्षधर समूहमा परेका प्राय सिया लडाकूहरू रहेका भएपनि उनीहरू इराकी, अफगानी तथा लेबनानी नागरिकसमेत रहेको उनले बताए ।