पर्यटन/संस्कृति

रामपुरको तालपोखरामा लोभिए पर्यटक

पाल्पा । रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् ।

सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो । तालमा भरिभराउ पानी, डुङ्गाको यात्रा, दैनिक शिवको पूजा हुन थालेसँगै पर्यटक यस तालप्रति लोभिएका छन् ।

करीब दश वर्षअघि सम्म तालमा हिउँदमा पानी निकै कम हुने र वर्षामा पानी प्रशस्त भएपनि, ताल माटोले भरिएकाले स्थानीय बासिन्दाले चासो र तालको संरक्षणमा जुट्न सकेका थिएनन् । अहिले कालीगण्डकीको पानी लिफ्ट प्रविधिमार्फत तालमा खसालिन्छ ।

तालमा भरिभराउ पानीले आन्तरिक पर्यटकलाई आकर्षित बनाउँछन् । मन्दिरको दर्शन र तालमा डुङ्गाको यात्रा गर्न आउने पर्यटकका कारण यस क्षेत्रमा चहलपहल बढेको ताल संरक्षण समितिका सचिव भरत देवकोटाले बताए ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको यस क्षेत्रको नमूना ताल, मन्दिर, जलयात्रा भएकाले दैनिक दुई–तीन सय आन्तरिक पर्यटक आउने गर्दछन् । चाडपर्वमा विशेषगरी मानिसको ओइरो लाग्छ । यो ताल पाल्पा, स्याङ्जा, नवलपरासी र तनहँु जिल्लाका पर्यटकको रोजाइको स्थल बन्दै गएको देवकोटा बताउन्छन् ।

पहिले हिउँदका महिनामा सुक्खा हुने तालमा भरिभराउ पानी देखे पछि मानिस अनौठो मान्छन् । त्यसमा कालीगण्डकी नदीमा स्नान गर्दा हुने पुण्य प्राप्त हुने विश्वास छ । पर्यटकहरु कालीगण्डकी नदीको पानी तालमा हालेको खबर सुनेर निकै उत्सुक बन्दै तालसम्म पुग्ने गर्दछन् ।

पहाडी जिल्ला पाल्पामा डुङ्गाको यात्रा सहितको मनोरञ्जनका लागि रामपुरको तालपोखरा लोकप्रिय बन्दै गएको छ । यस जिल्लामा अन्यत्र कतैपनि डुङ्गाको यात्रा सहितको सुविधा छैन । गर्मीका बेला मानिसहरु डुङ्गाको यात्रा गर्न रुचाउने गर्दछन् ।

आठ वर्षअघि ताल संरक्षणका लागि महायज्ञ गरी सङ्कलित रकमबाट पोखराको फेवाताल जस्तो ताल बनाउने योजनासहित स्थानीय बासिन्दा अघि बढेपछि अहिले यो संरचना बनाउन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमण थापाले बताए ।

महायज्ञबाट रु एक करोड ७० लाख संकलन भएपछि केही गर्न सकिन्छ भन्ने ऊर्जा थपियो, हामी गुरुयोजना निर्माण गरी सोही अनुसार नै अघि बढ्न सफल बनियो, अहिले रामपुर क्षेत्रको नै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रुपमा विकास भएकाले पर्यटकको आकर्षक केन्द्र बनेको नगरप्रमुख थापाले बताए ।

रामपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउन पूर्वाधार निर्माण भएको र यहाँ कालीगण्डकी नदीको पानी तालमा लिफ्टमार्फत ल्याइएको र आगामी दिनमा पनि ताल क्षेत्रको विकासमा सहयोग रहिरहने प्रमुख थापाको भनाइ छ ।

मिनी फेवातालका रुपमा परिचित हुन थालेसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाका लागि रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना भएका छन् । तालमा दुईओटा डुंगा चलेका छन् । रामपुरबजारमा आउने मानिसलाई अटोरिक्साले तालसम्म पु¥याउने हुनाले ताल क्षेत्रको निकै प्रचारप्रसार भएको स्थानीय बासिन्दा सागर देवकोटाले बताए ।

स्थानीयवासीले ताल क्षेत्रमा २०६६ सालमा महायज्ञ सञ्चालन गरी संकलन गरेको रकमबाट तालपोखराको मुहार फेरियो, स्थानीय बासिन्दाले रोजगारका वातावरण सिर्जना भयो, रामपुर क्षेत्रको नै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । तालको बीच भागमा शिवको मन्दिर छ । मानिसहरु दैनिक नै शिवको मन्दिरमा पूजा हुने र दर्शन गर्न आउने क्रम दैनिकजसो नै बढेको स्थानीय बासिन्दा नारायण खनाल बताउन्छन् ।

पर्यटकीयस्थलको परिचय दिन सफल तालपोखरालाई आगामी दिनमा अझ व्यवस्थित रुपमा विकास गर्दै लैजान सके यस क्षेत्रको पर्यटनमा प्रवद्र्धनमा टेवा मिल्ने देखिन्छ जसका कारण स्थानीय तहमा स्वरोजगार तथा रोजगारका अवसर सिर्जना सँगसँगै रामपुर क्षेत्रको प्रचारप्रसार हँुदै गएकोे स्थानीयबासिन्दा बताउँछन् ।

ताललाई अझै व्यवस्थित बनाइने

रामपुर नगरपालिकाले ताललाई अझै व्यवस्थित गरी पर्यटक आकर्षण गर्नका लागि रु २५ लाख बजेट विनियोजन गरेको थियो । तालको वरिपरिको भागमा पर्खाल निर्माण गर्ने काम भइरहेको छ । ताल दायाँबायाँ भागमा पर्खाल निर्माणले ताल सुरक्षित हुनेछ ।

तालको प्रवेशद्वारमा मार्बल लगाउने काम भइरहेको छ । तालपोखरीदेखि ठूलोआठोसम्मको सडकको बीच भागमा फूलका बिरुवा रोप्ने कार्यले तालपोखराको महत्व अझै बढ्नेछ । सडकमा केरी (फूल रोप्ने ठाउँ) बनाउनका लागि रामपुर नगरपालिकाले रु ५० लाख बजेट छुटृाएको छ ।