अन्तर्राष्ट्रिय

सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

दमासकस । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ ।

त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ ।

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो ।

सिरियाली सरकारी समाचार संस्था सानाले सो कुरा जनाएको छ । हासाकह मै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको छ । त्यसका विरुद्ध विगतमा पनि विरोध हुने गरेको थियो । तर पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाले यहाँ कारबाही गर्ने गरेका छन् ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ । अरु लाखौँ नागरिक घाइते भएका छन् भने ठूलो संख्याका सिरियाली देश छोडेर भाग्न बाध्य भएका छन् ।