अन्तर्राष्ट्रिय

नाइजरमा नौ सर्वसाधारणको हत्या

नियामी । नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको सो आक्रमणमा नौ जना मारिएका र ती सबैजना सर्वसाधारण भएका पनि समाचारमा जनाइएको छ ।

नाइजरमा यस प्रकारको आक्रमण बारम्बार बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको पाइन्छ । यद्यपी यस आक्रमणको भने कुनै समूहले जिम्मेवारी लिएको पुष्टि भएको छैन ।

नाइजर र नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको बलियो पकड रहेको छ । यस अघि पनि नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको हत्या हिंसा र अपहरणका घटनामा संलग्नता रहने गरेको थियो ।

सो आतङ्ककारी समूहले विद्यालयका बालबालिकालाई समेत अपहरण गर्ने, उनीहरुलाई बलात्कार गर्ने तथा कतिपयलाई जबर्जस्त आफ्नो सशस्त्र दस्तामा भर्ना गर्ने गर्दछन् ।