समाचार

सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए ।

रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ । जंगली हात्तीले सर्वसाधारण नागरिकको घर भत्काइदिएको छ भने बालीसमेत खाई कुल्ची नष्ट गरेको बताइएको छ ।

हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन् । घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मगरदैत्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पु¥याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट बर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने चारदेखि सातजना व्यक्तिको ज्यान जाने गरेको कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार कोशी टप्पुमा प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट बालीनाली, घर सहितको भौतिक संरचना र मानवीय क्षति भइरहेको छ । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।

जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले बताए ।

यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको सोलार फेन्स (विद्युतीय बार) ले समेत काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको स्थानीयवासी कलिम मियाँले बताए।