पर्यटन/संस्कृति

फेवाताल किनारामा वृक्षारोपण

पोखरा । विश्व वातावरण दिवसका अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र उपत्यका बृहत् सरसफाइ अभियानको संयोजनमा आज फेवाताल किनारामा बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।

फेवातालको सौन्दर्यकरण गर्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा ताल धुपी, असारे फूल, सम्मी लगायत विभिन्न जातका बिरुवा रोपिएको थियो ।

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धुपीको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै प्लास्टिक तथा नकुहिने वस्तुलाई प्रदेश सरकारले घरमै गएर किन्ने नीति ल्याउने तयारी गरेको बताए ।

वातावरण सफा राख्ने पहिलो जिम्मेवारी स्थानीय बासिन्दाकै भएको उल्लेख गर्दै उनले दैनिक प्रयोगमा आउने प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोगले पृथ्वीलाई तहस–नहस पार्दै गएको बताए ।

पोखरा उपत्यका बृहत् सरसफाइ अभियानकर्ता रामबहादुर केसीले पर्यावरणीय संरक्षणका लागि दिवसका दिन मात्र नभएर अन्य जुनसुकै समयमा पनि वृक्षारोपण तथा सरसफाइलाई जोड दिनु अपरिहार्य भएको बताए ।

वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव, उपसचिव, स्थानीय बुद्धिजीवी, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारको सहभागिता थियो ।