समाचार

कानून तर्जुमा प्रक्रियाका बिषयमा प्रशिक्षण

काठमाडौैँ । सघीय संसद् सचिवालयले कानून तर्जुमा प्रक्रियालगायत समग्र संसदीय अभ्यासका विषयमा सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

संघीय संसद् नयाँ बानेश्वरमा बुधबार र बिहीबार आयोजना हुने उक्त प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले भाग लिनेछन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानूकुल तुल्याउनुपर्ने भएको हुँदा कानून निर्माणको जिम्मेवारीलाई सहज रुपमा पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदलाई प्रशिक्षण दिन लागेको हो ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार नयाँ संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा मौलिक हकसँग सम्बन्धित कानून आगामी असोज मसान्तसम्म बनाइसक्नुपर्नेछ ।

संघीय संरचना र संघीय शासन प्रणाली, बजेट निर्माण र वित्तीय अनुशासन, संसद् र नागरिक बीचको सम्बन्धका विषयमा केन्द्रित रहेर सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

नेपालको संविधान जारी गरिसकेपछि संघीय संसद्ले १४० वटा कानून बनाउनुपर्ने जिम्मेवारी रहेकामा अधिकांश कानून बनाउनै बाँकी रहेको छ । संघीय संसद् प्रतिनिधिसभा २७५ सदस्यीय तथा राष्ट्रियसभा ५९ सदस्यीय छन ।