समाचार

दुईहजार डलरको पत्रकारिता र संगीत पुरस्कारको घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले यस वर्षको पत्रकारिता र संगीत पुरस्कारको घोषणा गरेको छ ।

फाउण्डेशनको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । पुरस्काकरको राशि दुई हजार अमेरिकी डलर छ ।

यसैगरी, पाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम र झापाका चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।

त्यस्तै, पाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार थाहाखबर डटकमकी देविका घर्तिमगरलाई पुरस्कृत गरिने भएको छ ।

यस वर्षको हेम सरिता संगीत पुरस्कार वरिष्ठ कलाकार जेबी टुहुरेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक हजार अमेरिकी डलर छ ।

पत्रकारिता पुरस्कार निर्णयका लागि नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा र जिवेन्द्र सिंखडा तथा फाउण्डेशनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो भने संगीत पुरस्कारका लागि प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला र जिवेन्द्र सिंखडा र फाउण्डेशनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् ।

फाउण्डेशनले काठमाडौँको उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माण र छात्रवृृत्तिमा पनि सहयोग गर्दै आएको छ ।