आर्थिक

बैंक ठगीका फरार अभियुक्त पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले रु चार लाख ५८ हजार रुपैँया ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका ३० वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई सोमबार कलंकीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लुइटेलले कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी रु एक करोड ऋण मिलाइदिन्छु भन्दै रु चार लाख ५८ हजार लिएर फरार भएका थिए । रकम लिएर फरार भएका लुइँटेललाई भट्टराईले जिल्ला अदालत काठमाडौँमा निवेदन दिएपछि पक्राउ गरेको हो ।

लुइटेललाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र रु चारलाख ५८ हजार जरिवाना सुनाएको थियो । पक्राउ लुइँटेललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

हराएको रु पाँचलाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको टोलीले आज बिहान ७ बजे सोलुखुम्बु घर भई काठमाडौँ कपन बस्ने ५० वर्षीय वीर्घधन राईले बागबजार आउने क्रममा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

राईले ट्याक्सीमा पैसा छुट्ने बित्तिकै महाशाखामा खबर गरेपछि महाशाखाको टोलीले सिसिटिभी फुटेज चेकजाँच गर्दा बा १ ज १२७५ नम्बरको ट्याक्सीबाट उक्त रकम फेला पारेर हो । सिसी क्यामराको फुटेजबाट ट्याक्सी चालक ओमप्रसाद डोटेललाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उक्त रकम फेला परेको महाशाखाले जनाएको छ ।

फेला परेको रकम महाशाखाका प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले राईलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै प्रनाउ पोखरेलले काठमाडौँमा विभिन्न समयमा सवारी साधनमा सामान हराउने गुनासो महाशाखामा आएपछि सार्वजनिक सवारी साधनको भित्री भागमा नम्बर राख्ने व्यवस्था गरिएको बताए ।