आर्थिक

तेस्रो ‘शिखर सम्मेलन’ जेठ २४ र २५ गते राजधानीमा

काठमाडौँ । बचत तथा ऋण सहकारी संस्थाहरुको तेस्रो ‘शिखर सम्मेलन’ यही जेठ २४ र २५ गते राजधानीमा हुने भएको छ । यसअघि पहिलो सम्मेलन २०६८ र दोस्रो २०७१ सालमा भएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा उक्त सम्मेलन हुन गइरहेको हो । सम्मेलनमा देशभरका ६२० सहकारीकर्मीको सहभागिता र विभिन्न विषयसँग सम्बन्धित ११ वटा कार्यपत्र प्रस्तुत गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेफ्स्कूनमा तीन हजार १०० बचत संस्था आबद्ध छन् । करिब दुई हजार २०० संस्थाले नेफ्स्कूनमा बुझाएको वित्तीय विवरणअनुसर झण्डै रु तीन खर्बभन्दा बढी रकम बचत छ ।

सम्मेलनमा सहकारी संस्था (साकोस) को स्थिरीकरण, कोष कार्यान्वयन, समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्यले शिखर सम्मेलन आयोजना गरिएको संयोजक परितोष पौड्याले बताए ।

विगत ३० वर्षदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक जीवनस्तर उठाउन क्रियाशील नेफ्स्कून एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य संस्था हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव गोपी मैनालीले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकास तथा परिवर्तनमा प्रत्यक्ष टेवा पु¥याउने कार्यमा सरकार सदैव सहयोगीका रुपमा अघि बढ्ने बताए ।