पर्यटन/संस्कृति

विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा सरसफाइ

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा ट्रेकिंग एजेन्सीज एसोशिएशन अफ नेपाल (टान) ले विश्व सम्पदा सूचीकृत स्वयम्भूनाथको आज सरसफाइ गरेको छ ।

काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले उक्त क्षेत्रको सरसफाइ भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावले वातावरण बिग्रदै गएकामा चिन्ता व्यक्त गरे ।

वडाअध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने हुँदा त्यसलाई सधैँ सफा बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संयोजक पिके शेर्पाले प्रत्येक वर्ष जुन ५ मा पर्ने विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्वअन्तर्गत आज महत्वपूर्ण पर्यटकीय सम्पदास्थलमा सरसफाइ गरिएको जानकारी दिए । उक्त कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो ।