आर्थिक

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

काठमाडौँ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि आज शेयर कारोवार प्रभावित भएको छ ।

लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कारोवारमा केही समस्या आएको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।

सरकारले बोनस र हकप्रद शेयरमा ७।५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५।५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

लगानीकर्ताले आजै अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएका छन् ।