स्वास्थ्य

स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

त्रिशूली(नुवाकोट) । ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ ।
चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै आएकामा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ ।
“नयाँ भवनबाट सेवा प्रवाह गर्ने सपना सपनामै सीमित हुने भो”, स्वास्थ्यचौकीका इन्चार्ज सुरेश गैरेले भन्नुभयो “भवन निर्माण सम्पन्न हुन अझै दुई वर्ष जति लाग्ला । करीब साठी प्रतिशत काम भयो होला ।”
ठेकेदारले निर्माण थालेर बीचमै काम स्थगत गरेपछि निर्माणको काम अलपत्र परेको हो । एक वर्षपछि ठेकेदारले वैशाख लागेपछि काम थाले पनि वर्षात्को कारण ढुवानीको समस्या, जिल्लामा गिटी बालुवाको अभाव देखाउँदै फेरि काम नगरेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ककनी गाउँपालिका वडा नं। ८ का वडाअध्यक्ष शेषमान लामाले बताए ।