राजनीति

प्रधानमन्त्रीलाई मनपर्ने फलफूल कुन ? मनपर्ने फलफूल रोप्दैँ भनेः फलजति जनतालाई फूल जति देशलाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गरे ।

विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले भने, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।”

सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उनले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याए । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताए ।

कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गरे । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराए ।

कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पर्ने फलफूल लिची र एभोकाडो भएको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’