कृषि

तरकारी खेतीबाट कमाल गर्दैछन् महिला

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया दिपा आचार्यले दुई रोपनी जग्गामा फलाएको मुलाबाट रु ४५ हजार आम्दानी गरे ।

एक वर्ष अघिसम्म बाँझो रहने जग्गामा यस वर्ष रु ९०० को बीउबाट मनग्य कमाइ भएपछि आचार्यको जोश बढेको छ । मंसिर अन्तिममा लगाएको मुलाले फागुनमै प्रतिकिलो रु ३५ देखि रु ४० सम्म दिक्तेलबजारमा मूल्य पाएको थियो । मुलाबाट सोचेभन्दा बढी आम्दानी भएपछि परिवारमा खुशी छाएको छ ।

परिश्रम गरे आम्दानी बढ्ने आचार्यले ठहर गरेपछि अब उहाँले टनेलामा तरकारीखेती गरी आम्दानी अझ बढाउने योजना बनाउनुभएको छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष साउदीमा बसेर हाल घर फर्किएर आचार्यसँगै मेहनत गरिरहेका छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुर्गा बस्नेत मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मासिक रु २५ हजारसम्म आम्दानी गरिरहनुभएको छ । पहिले घरमा खानका लागि मात्र सागसब्जी लगाउने उहाँले व्यावसायिक रुपले तरकारीखेती गर्न शुरु गरेपछि आम्दानी बढेको हो ।

बस्नेतले झण्डै पाँच रोपनी जग्गामा अहिले तरकारी खेती गरिरहनुभएको छ । तरकारी खेतीसँगै भँैंसीपालन, बाख्रापालन र कुखुरापालनसमेत गर्नुभएको छ । उहाँले उत्पादन गरेको तरकारी दिक्तेलबजारमै खपत हुन्छ ।

“वार्षिक रु सात हजार भाडा तिरेर जग्गा भाडामा लिई तरकारीखेती विस्तार गरेकी छु,” बस्नेतले भने । उनले घरखर्च गरेर बचतसमेत गर्दैआएका छन् ।

दिपा र दुर्गा जस्तै पछिल्लो समय जिल्लाका अधिकांश महिला आम्दानी बढाउने तथा खर्च घटाउने अभियानमा लागेका छन् । वैदेशिक रोजगारीमा जाने परिवारका सदस्यबाट विप्रेषण प्राप्त गर्ने सदस्यलाई प्रदान गरिने वित्तीय साक्षरता कक्षाका कारण महिला आम्दानी बढाउन हौसिएका छन् ।

उज्यालो गाउँपालिका बनाउन विद्युत् विस्तार

जन्तेढुंगा गाउँपालिकाले उज्यालो गाउँपालिका निर्माणका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार शुरु गरेको छ । गाउँपालिकाको रु ४० लाख लगानीमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, रातमाटा हुँदै गाउँपालिका जोड्न केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार शुरु गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले गाउँपालिकालाई केन्द्रीय प्रशारण लाइनुँग जोड्न ८५ वटा फलामे पोल प्रदान गरेको गाउँपालिका अध्यक्ष शंखरमान राईले बताउनुभयो । विद्युत् विस्तारका लागि गाउँपालिकामा तार, पोललगायत आवश्यक सामग्री ल्याइएको छ ।

विद्युत् विस्तारका लागि ठेक्का लागिसकेको र हाल पोल गाड्नका लागि खाल्डो खन्ने काम भइरहेको राईले बताए । विद्युत् सुविधा नहुँदा गाउँपालिकावासी वषौँदेखि सोलार र टुकीको भरमा छन् ।

विद्युत् विस्तार हुने भएपछि स्थानीयवासी हर्षित छन् । “वषौँदेखि सोलार टुकीको भरमा थियौंँ, ढिलै भए पनि गाउँपालिकाले राम्रो कामको थालनी गरेको छ,” वडा नं ४, कात्तिकेकी लक्ष्मी रोइलाले भने ।